काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि एमसिसीको पक्षमा देखिएका छन्। सत्तामा हुँदा एमसिसी पारित गराउनुपर्ने भन्दै आएका ओलीले विरोध गर्नेहरुले नबुझेको बताउने गरेका थिए।
सत्ताबाट बाहिर आएपछि उनले एमसिसीका सम्बन्धमा स्पष्ट धारणा दिएका छैनन्। उनले सत्ताको कुरा रहेको र सत्ताको धारणा आएपछि आफूहरुले त्यसअनुसार के निर्णय गर्ने स्पष्ट हुने भन्दै ओली एमसिसीको समर्थनबाट ढुलमुले तर्कमा पुगेका थिए।
तर चितवनमा भएको महाधिवेशनबाट एमालेको नयाँ समिति बनेसँगै ओली फेरि एमसिसीको समर्थनमा देखिएका हुन्। शनिबारदेखि सुरु भएको एमालेको नयाँ निर्वाचित केन्द्रीय समितिको दोस्रो बैठकमा ओलीले एमसिसीको पक्षमा अभिव्यक्ति दिएका हुन्।
स्रोतका अनुसार ओलीले शनिबार बैठकमा भने, ‘सरकारमा अविछिन्न उत्तराधिकार हुन्छ। अघिल्लो सरकारले गरेका कामको स्वामित्व त्यसपछिको सरकारले लिनुपर्छ। एमसिसीका सन्दर्भमा हामीले राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्छ । अन्धराष्ट्रवादको भावनामा बगेर राष्ट्रिय स्वार्थको महत्वलाई कम गरिनु हुँदैन।’
ओलीले एमसिसीका सन्दर्भमा पार्टीले छलफल गरेर उचित निर्णय लिनुपर्ने भन्दै राष्ट्रको समग्र हितलाई केन्द्रमा राखिनुपर्ने दाबी गरेका हुन्। उनले उचित निर्णय लिएर एमसिसी पारित गर्नुपर्ने पक्षमा पार्टीको बैठकमा अभिव्यक्ति दिएका हुन्।
सरकारले आउँदो मंगलबार (मंसिर २८) गते संघीय संसदको अधिवेशन बोलाएको छ। यो अधिवेशनबाट एमसिसी पारित गर्ने तयारीमा सरकार छ। यही परिवेशमा ओलीले पनि एमसिसीको पक्षमा अभिव्यक्ति दिएका हुन्।