काठमाडौं । नेकपा (एमाले) ले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचन सार्ने षड्यन्त्र भए त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ । केन्द्रीय सचिवालयको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउँदै उपमहासचिव तथा प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘हामीलाई चुनाव सार्ने षड्यन्त्रको आभाष भइरहेको छ, त्यस्तो षड्यन्त्रको कडा प्रतिवाद गर्छौँ, कुनै पनि हालतमा चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौँ,’ ‘तलका सबै कमिटीलाई त्यस्तो षड्यन्त्रको अलमलमा नपरी चुनावको तयारीमा लाग्न निर्देशन दिने बैठकले निर्णय गरेको छ ।’
बैठकले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा समितिले तयार पारेको निर्वाचन घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले ९ वैशाखमा चुनावको घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।


