काठमाडौं( नेकपा माओवादी केन्द्रका नेता एवम् सत्ता गठबन्धनले गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य नारायणकाजी श्रेष्ठले एमसीसीका विषयमा अध्ययन गर्न कागजपत्र संकलन थालिएको बताएका छन्।
आइतबार बसेको प्रमुख प्रतिपक्ष नेकपा एमाले बाहेकको सर्वदलीय बैठकले नेकपा एकीकृत समाजवादी वरिष्ठ नेता झलनाथ खनाल, कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रेष्ठ रहेको तीन सदस्यीय कार्यदल बनाएको थियो।
तीन सदस्यीय कार्यदलले एमसीसीका विषयमा अध्ययन गरेर गठबन्धनमा प्रतिवेदन बुझाउने छन्।त्यसका लागि कार्यदलले कागजपत्र संकलनको काम गरिरहेको नेता श्रेष्ठले नेपाल लाइभलाई जानकारी दिए।
‘एमसीसीका विषयमा बहस गर्नुपर्ने, छलफल गर्नुपर्ने छ। हामीले उठाएका विषयहरु के के हुन्रु त्यस बारेमा अध्ययन गरेर निचोड निकाल्नु पर्ने छ’ श्रेष्ठले भने, ‘आज सबै एमसीसीका विषयमा लेखिएका म्याटरहरु जम्मा गर्ने भनिएको छ। त्यसको जिम्मा सञ्चार मन्त्री कार्कीले लिनु भएको छ।’
अर्थ मन्त्रालयसहित सबै निकायबाट विभिन्न समयमा भएका सम्झौता जम्मा गरेर अध्ययन गरिने श्रेष्ठले बताए।
‘सन् २०१७ मा गरेको सम्झौता, सन २०१९मा इप्लिमेन्टेसन गर्न गरेको सम्झौता, त्यसमा भएका पत्राचारहरु सबै जम्मा गर्दै छौ’ श्रेष्ठले भने, ‘आजबाट बल्ल म्याटरहरु कलेक्सन गर्न थालेका छौं, छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने भन्ने छ।’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा एमसीसीका विषयमा विवाद भएपछि खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको थियो। भीम रावल, प्रदीप ज्ञावली रहेको उक्त कार्यदलले एमसीसी संशोधन गरेर मात्रै संसदबाट पारित गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाइएको थियो। तर, नेकपा फुटेको छ र अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनमा शेरबहादुर देउवा प्रधानमन्त्री रहेका छन्।
मंगलबार देउवाले बोलाएको बैठकमा सहभागी अधिकांश दलले एमसीसी संशोधन नगरि पास गर्न नहुने बताएपछि अध्ययनका लागि कार्यदल बनाइएको हो।