काठमाडौं । यस वर्षको तिहारको दोस्रो दिन आज काग र कुकुरको पूजा गरिँदैछ । हिजो बेलुकी यमदीपदान सुरु भएपनि तिहार भने आजदेखि सुरु भएको पञ्चांग निर्णायक समितिले जानकारी दिएको छ ।
मङ्गलबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।
बुधबार बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ः१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो ।
‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो,’ उनले भने । तिथिका कारण यस्तो हुन गएको हो ।
आज बिहान पहिले कागलाई निमन्त्रणा गरेर खाने कुरा दिने गरिन्छ । यमदूतका रुपमा कागलाई पूजा गर्ने गरिन्छ ।
काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी मानिन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त हो । युगान्तरमा कागले सन्देश र सूचना प्रभा गर्ने काम गरेकाले अहिले पनि कागलाई हामीले वर्षमा एकदिन भएपनि पूजा गर्ने गरिन्छ ।