काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँसबारीमा रहेको शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गरिने बताएका छन् । अध्यक्ष दाहालले आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले गंगालाल हृदय केन्द्र नेपाली जनताको आशा र भरोसाको केन्द्र भएको बताए । उनले भने, ‘गंगालाल हृदय केन्द्र देशभरिका नेपाली जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित भएको छ। जनताले यसलाई मुटुरोगको उपचार र आफ्नो भरोसाको केन्द्रका रूपमा बुझेका छन्। यसका लागि तपाईहरू धन्यवादको पात्र हुनुहुन्छ। यसले आम रूपमा जनताको स्वास्थ्यप्रतिको संवेदनशीलतालाई प्रमाणित गर्दछ।’


