काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले चितवनमा महाधिवेशन गरेर यहाँको विकास देखेको टिप्पणी गरेका छन् ।
उनले चितवन जिल्ला राजनीतिको केन्द्र बन्न पुगेको पनि बताए । शनिबार नारायणी नदी किनारमा पैदल मार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘ अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ’, प्रचण्डले भने, ‘केही दिनअगाडि यहाँ मेलाजस्तैगरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो । चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसको साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको लाग्छ ।’
प्रचण्डले चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको समेत बताए । उनले भने, ‘यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चितवनबासीहरुको लागि खुसीको कुरो हो ।’