काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न किसिमले छरिएर रहेका माओवादी घटकहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
देशी–विदेशी प्रतिक्रियावादी शक्तिहरु जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै माओवादी घटकहरुलाई एकतावद्ध हुन आग्रह गरेका हुन् ।
२७ औं जनयुद्ध दिवसको सन्दर्भमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘छरिएर रहेका माओवादी घटकहरुलाई देशको अगाडि आइपरेको समस्यालाई आत्मसात गर्दै एकतावद्ध हुन आग्रह गर्दछु । परिवर्तनका लागि लडेका शक्तिहरु एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने विश्वास व्यक्त गर्दछु ।’