काठमाडौं । एमाले उपाध्यक्ष भीमबहादुर रावलले यो सरकारले एमसीसी पास गर्न नसक्ने बताएका छन् । उनले आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् ।
आफूलाई एमसीसीको विरोध र कालापानी, लिपुलेक र लिम्यिाधुराको पक्षमा बोलेका निरन्तर आक्रमण भइरहेको पनि उनले दाबी गरे । उनले भने, “म नीति र आदर्शमा चल्ने मानिस हुँ । व्यक्तिगत रुपमा कुनै नेतासँग मेरो लेनदेन र विवाद छैन । मैले एमसीसीका राष्ट्रघाती प्रावधानको विरोध गरें । कालापानी, लिम्पियाधुराको पक्षमा उभिएँ । त्यसैले म माथि व्यक्तिगत आक्रमण भइरहेको छ । १० बुँदे सहमति कुनै पनि जिल्लामा कार्यान्वयन हुन दिएनन् । यसका परिणाम के के हुन्छन्, हेर्दै जाऊँ ।”
उनले आफू निर्वाचित उपाध्यक्ष भएकाले पार्टी नछाड्ने पनि बताए । उनले भने, “मैले पार्टी एकता बचाउन धेरै प्रयत्न गरें । आजदेखि देशभरि वडा अधिवेशन छ । तर सदस्यता विवाद यथावत् छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली सन्धि गरेर जनतालाई झुक्काएको र एमसीसीमा पनि झुक्याउन खोजेको आरोप उनले लगाए । उनले भने, “महाकाली सन्धिमा त्यतिबेला प्रधानमन्त्रीले झुक्याउनुभएको होइन रु म एससीसीबारे प्रधानमन्त्रीसँग बहस गर्न तयार छु । एमसीसी पारित गर्दा मुलुक औपनिवेशीकरणको बाटोमा जान्छ । कांग्रेसलाई एमसीसी पास गर्ने जनादेश छैन । “