काठमाडौं । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ । जनसहभागिताको हिसाबले उद्घाटन समारोह निकै भव्य देखियो ।
पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो । पार्टीलाई विभाजनले ठूलो असर नपरेको देखाउनका लागि पनि एमालेलाई जनता उतार्नैपर्ने बाध्यता थियो । देशैभरबाट सयौं सवारीसाधनहरूले मान्छे ओसारेका थिए । फलस्वरुप उद्घाटन समारोहमा नारायण किनार खचाखच भयो । नारायणी पुलमासमेत थेगिनसक्नु मानिसहरू भेला भएका थिए ।
उद्घाटनस्थलमा मानिसहरू अटाइनअटाइ थिए नै, धेरै त त्यहाँसम्म पुग्न पनि नसकेर बाटैमा रोकिनुपर्यो । कार्यक्रममा एमालेका नेताहरु र अन्य अतिथिहरूलाई मञ्चसम्म पुग्नै सकस परेको थियो । नारायणी पुलपारि हजारौंले डिजिटल स्क्रिनबाट उद्घाटन समारोह नियालेका थिए ।
एमालेले यो महाधिवेनशनलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । उद्घाटनस्थलको मञ्च निर्माणमा नै ५० औं लाख खर्च गरिएको थियो । अहिलेसम्म कुनै पनि राजनीतिक सभामा निर्माण गरिएकोमध्ये विशाल र आकर्षक मञ्च एमालेले बनाएको छ । त्यसो त, चार घण्टा प्रयोग हुने मञ्च यति खर्चिलो बनाएकोमा पार्टीले आलोचना पनि खेप्नुपरेको छ एमालेले । कैयन स्थानमा खडा गरिएका स्वागतद्वारहरू पनि उत्तिकै खर्चिला छन् ।
समारोह उद्घाटनमा एमालेले नयाँ प्रयोग गरेको छ । अध्यक्ष केपी शर्मा ओली आफैंमा प्रविधिमैत्री नेता हुन् । उनले रिमोट कन्ट्रोटर थिचेर झण्डोत्तलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए । ओलीले रिमोट थिच्दा नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया हतौडा अंकित झण्डा एकसाथ स्वचालितरुपमा माथि उठेको दृष्य सहभागीका लागि नौलो रह्यो ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मञ्चमा उक्लिने समय एकैचोटि परेको थियो । लामो समयदेखि एउटै मञ्चमा नदेखिएका दुई नेताले सँगै मञ्चमा उभिएर अभिवादन गरेका थिए । राजनीतिक विवादका कारण ओली र देउवाको सम्वन्धमा छाएको चिसोपनलाई आजको दृष्यले बिर्साएको थियो । आफ्नो भाषणमा देउवाले ओलीसँग आफूले जेलमा सँगै दुःख भोगेको भन्दै भावुकता व्यक्त गरेका थिए ।