काठमाडौं । नेकपा एमालेको महासचिवका लागि केपी शर्मा ओलीले विष्णु पौडेललाई अगाडि सार्ने तयारी गरेका छन् ।
आफूपक्षीय नेताहरूसँगको कुराकानी र महाधिवेशन प्रतिनिधिसँगको भावना बुझेपछि ओलीले पौडेललाई अगाडि सार्ने तयारी गरेको एमाले उच्च स्रोतले बताएको छ ।
महासचिवका लागि शंकर पोखरेलले पनि आकांक्षा राखेका थिए । अहिले पदाधिकारीमा नभएका पोखरेललाई एकैपटक महासचिव बनाउनुभन्दा एक कार्यकाल उपमहासचिव बनाएर अर्को पटक महासचिव बनाउन उपयुक्त हुने बहुसंख्यक महाधिवेशन प्रतिनिधिले सुझाव दिएको स्रोतले बतायो ।
एमाले दशौं महाधिवेशनको बन्दसत्रले शनिवार पदाधिकारी र केन्द्रीय कमिटीमा सर्वसम्मत नेतृत्वको लागि नाम प्रस्ताव गर्ने अधिकार केपी ओलीलाई दिएको थियो । पदाधिकारीको सूची बनाउन ओलीले बिहानैदेखि नेताहरूसँग परामर्श गरेका थिए ।