काठमाडौं । एमालेको दशौं महाधिवेशन आज समापन गर्ने तयारी भइरहेको छ, तर, नेतृत्व छनोटको मुख्य विषय निरुपण हुन बाँकी नै छ । महाधिवेशन हलले साविक अध्यक्ष केपी शर्मा ओलीलाई पदाधिकारी र केन्द्रीय समितिको सर्वसम्मत नाम प्रस्ताव गर्न म्यान्डेट दिए पनि निर्वाचनको सम्भावना टरेको छैन ।
पार्टी विभाजनका बेला माधव नेपालको साथ छाडेर एमालेमा रहेका (१० भाइ)लाई समेट्ने विषयमा ओलीको छनोटपूर्ण रणनीतिका कारण सर्वसम्मत नेतृत्व जटिल बनेको हो । १० भाइमध्ये अध्यक्षका भीम रावल र घनश्याम भुसालको व्यवस्थापनप्रति ओली सकारात्मक छैनन् । पछिल्लो अवस्थामा भुसाललाई साविककै उपमहासचिव पद दिन तयार रहेको भए पनि रावललाई भने उनले पदाधिकारीमा समेट्न नचाहेको स्रोतको दावी छ ।
विधान महाधिवेशनले एक जना मात्रै उपमहासचिव रहने व्यवस्था गरेको थियो । नेता व्यवस्थापन गर्न केन्द्रीय कमिटीको अन्तिम बैठकले दुई उपमहासचिव थप गर्ने निर्णय लियो । शनिवार उक्त निर्णय महाधिवेशनको बन्द सत्रले पारित गरिसकेको छ । तर, उपाध्यक्ष पद पाँचबाट सात बनाउँदा पनि रावल समेटिने सम्भावना कम देखिएको छ ।
‘रावल कामरेडले अध्यक्षमा उम्मेदवारी दिएपछि एकपल्ट पनि अध्यक्षज्यूले संवाद गर्न खोज्नु भएन,’ रावल निकट एक नेताले भने, ‘उहाँ कुनै पनि हालतमा रावललाई पदाधिकारीमा ल्याउने पक्षमा हुनुहुन्न ।’
निर्वाचन हुने अवस्थामा रावलले अध्यक्षमा उम्मेदवारी दिए ओलीले व्यवस्थापन गर्न नसकेका अरू नेताहरूले पनि उम्मेदवारी दिने तयारी गरेका थिए । तर, शनिवार नाम प्रस्ताव गर्ने जिम्मा महाधिवेशन हलले ओलीलाई दिएपछि रावललाई थप संकट परेको हो ।
केही नेताका अनुसार केन्द्रीय कमिटीको बैठकबाटै उक्त अधिकार ओलीलाई दिने तयारी गरिएको थियो । तर, केन्द्रीय कमिटीभन्दा बढी शक्तिशाली महाधिवेशन हुने भएको हुँदा ओलीले दोस्रो बाटो रोजेका हुन् । यसरी अधिकार प्रत्यायोजन गरिएपछि रावल थप रुष्ट बनेका छन् । उनले पार्टीले अलोकतान्त्रिक बाटो लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।