काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ।
सोमबार प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि चार दिन लामो छलफल भएको थियो। २५ वटा समूहले दिएका सुझाव प्रस्तुतीकरण बिहीबार सकिएसँगै प्रचण्डले शुक्रबार जवाफ दिएका हुन्।
जवाफ दिने क्रममा उनले सबैको भावना समेटेर दस्तावेजलाई परिपक्व बनाउने वाचा गरेका छन्। प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमाथि कडा आलोचना र टिप्पणी भएपछि अब देशमा हुने निर्वाचनलगत्तै विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले सबैका सुझावलाई समेटेर सबै तहका निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन गर्ने बताएका हुन्।
सबैका सुझाव समेटेर देशमा हुने सबै तहका निर्वाचनपछि विशेष महाधिवेशन आयोजना गर्छौँ। त्यहीँबाट अहिले पेश भएको दस्तावेजलाई सापेक्षित पूर्णता दिइनेछु, उनले भने,तर खास समेट्न पर्ने कुरा अहिले नै समेटेर लैजानेछौँ।
उनले जवाफ दिने क्रममा नेता राम कार्कीले पेश गरेको पुरक प्रस्तावलाई पनि आफ्नो मूल दस्तावेजमा समेटेर लैजाने वाचा गरेका छन्।
त्यस्तै लेखनाथ न्यौपानेको भिन्न मतलाई पनि स्वीकार गरेर आवश्यकता अनुसार पार्टी संगठनमा बहसका लागि लैजाने बताएका छन्।
प्रचण्डको राजनीतिक प्रस्ताव पारित भएसँगै अब माओवादी शुक्रबारदेखि नै नयाँ नेतृत्व चयन प्रक्रियामा जाने भएको छ।
माओवादीको केन्द्रीय सदस्यको नाम पेस गर्न प्रदेश कमिटीलाई जिम्मेवारी दिने तयारी छ। माओवादीका १० वटा प्रदेश समिति छन्।
विधानअनुसार महाधिवेशन प्रतिनिधिले २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन्। त्यो केन्द्रीय समितिले बल्ल अध्यक्षसहित १५ पदाधिकारी चयन गर्ने व्यवस्था छ।


