काठमाडौं । एमसीसीमा नेपाली कांग्रेससँग सहमति हुन नसकेपछि गठबन्धनमा रहेका कांग्रेस बाहेकका तीन दलका शीर्ष नेताहरूबीच प्रचण्ड निवास खुमलटारमा छलफलमा भइरहेको छ ।
हिजोको सत्ता गठबन्धनका शीर्ष नेताबीच एमसीसीलाई दिएर विवाद भएपछि अब कसरी अगाडि बढ्ने भन्ने रणनीति तय गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एकीकृत समाजवादीकै वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका नेता अशोक राई प्रचण्ड निवासमा भेला भएका हुन्।
अहिले छलफल जारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ। साथमा अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पनि छन्।
आज बिहान १० बजे गठबन्धनको बैठक बस्ने कार्यक्रम तय भएको छ। एमसीसीलाई अहिलेकै अवस्थामा कुनै पनि हालतमा पास गर्न नहुने अडानमा रहेका दलहरुबीचको यो बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाली कांग्रेस भने एमसीसीलाई आजको प्रतिनिधिसभाको बैठकमा जसरी पनि टेबल गर्ने आफ्नो अडानमा दृढ रहेको छ ।