काठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई तनाव हुने सवाल उठाएका छन् ।
देउवाले आगामी चुनावमा गठबन्धन गर्नेबारे कसैसँग कुनै सहमति नभएको र चुनावमा गठबन्धन हुन्छ भन्ने को भनेर प्रश्न उठाएका हुन् ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा उठेका सवालहरुको जवाफ दिने क्रममा देउवाले सत्ता गठबन्धनमा आगामी चुनावमा सामेल हुने विषयमा कुनै सहमति नभएको स्पष्ट पारेका हुन् ।
उनले कांग्रेसले एक्लै चुनावमा लड्न सक्ने बताए । ‘कसैसँग पनि गठबन्धन हुन्नँ । एक्लै लड्ने हो । गठबन्धन गर्ने भनेर कसैसँग कुनै सहमति भएको छैन,’ उनले भनेका छन् ।
देउवाले गठबन्धन दलहरुबीच बनेको राजनीतिक समन्वय समिति राष्ट्रियसभा चुनावसम्ममात्रै सक्रिय हुने दोहोर्याएका छन् । महाधिवेशनको संघारमा रहेको नेपाली कांग्रेसभित्र नेतृत्वले अरू दलहरूसँग चुनावी तालमेल गर्ने सहमति गरिसकेको हो कि भन्ने संशय देखा परेको छ।
गठबन्धनभित्र रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन दीर्घकालीन रहने र चुनावी तालमेल हुने दाबी गरिरहेका छन्।