काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गमस्थल लुम्बिनी रहेको तथ्यमा विश्वको ध्यान जान जरुरी रहेको बताएका छन् ।
अध्यक्ष ओलीले शुक्रबार बुद्धजयन्तीको अवसरमा शुभकामना दिँदै सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पुऱ्याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय वैशाख दिवसका रूपमा मनाउने घोषणा गरेको स्मरण गरेका छन् ।
नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, प्रख्याति र पर्यटन विकासमा लुम्बिनीको विशेष महत्व रहेको भन्दै उनले लुम्बिनी विश्व शान्ति शहरको परिकल्पनालाई साकार रूप दिन एमाले सरकारले सार्थक प्रयास गरेको बताएका छन् ।


