काठमाडौं । नेकपा एमालेले पार्टीको एकतालाई अझै सुदृढ बनाउने गरी १० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ।
१० बुँदे सहमति कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो।
बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए।
उनले भने, ‘विधान महाधिवेशनमा प्रतिनिधित्वको विषय र १० बुँदेको कार्यान्वयनको सम्बन्धमा देखिएका समस्याहरु समाधानका लागि एउटा नीतिगत व्यवस्था गरेर तदनुकूल नै त्यस्ता समस्या समाधान गर्ने कुरा गरेका छौँ। दश बूँदेको कार्यान्वयनमा धेरै ठाउँमा भइसकेको छ। जुन ठाउँमा त्यसको कार्यान्वयन हुन सकेको छैन। त्यसलाई पनि छिटो कार्यान्वयन गरेर जाने कुरा भएको छ।
बैठकमा २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढ्ने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए। उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्जार्च आफू नै रहेको दावीसमेत गरे। संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ। संयोजक रावलले सो विवाद पनि १० बूँदे सहमति कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे।
कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन्।