काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सकिएको छ। बैठकले आज पनि मन्त्रीको टुंगो लगाउन सकेन । मन्त्रिपरिषद विस्तार गर्ने तयारी भइरहेपनि मन्त्रालयको भागवण्डा अझै नटुंगिएकाले मन्त्रीको टुंगो नलागेको हो ।
बैठकपछि स्थायी समिति सदस्य देव गुरुङले मन्त्रीको नाम टुंग्याउने विषयमा बैठकमा छलफल नभएको जानकारी दिए ।
मन्त्रालय बाँडफाँटको विषयमा अहिलेसम्म कुनै टुंगो नै नलागेको भएकाले बैठकमा मन्त्री कोको पठाउने भन्ने विषयमा ठोस छलफल नभएको उनको भनाइ थियो ।
दल विभाजनसम्वन्धी अध्यादेश फिर्ता लिइसकेको अवस्थामा अब सत्ता गठबन्धनमा रहेका दलहरु बसेर टुंगो लगाउने तयारी भइरहेको समेत नेता गुरुङले जानकारी दिए ।
बैठकले पार्टीको आन्तरिक संगठनलाई व्यवस्थित पार्न गृहकार्य सुरु गर्ने निर्णय पनि गरेको छ ।
बुधबार पेरिसडाँडामा बसेको माअेवादी स्थायी कमिटी बैठकमा पार्टीको संगठन व्यवस्थित र विस्तार गर्ने योजना पेस भएको हो । उक्त योजना बैठकले स्वीकार गरेको नेता गुरुङले जानकारी दिए ।