काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् ।पार्टीको राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज तयार पार्नका लागि प्रचण्ड एकान्तबास जान लागेका हुन् ।
‘प्रचण्ड’ नियमित भेटघाट रोकेर सम्मेलन केन्द्रीत काममा लागेका छन् । माओवादीको प्रदेश सम्मेलन आगामी मंसिर २५ गते हुँदैछ । त्यसका लागि आवश्यक दस्तावेज लेखन तथा राजनीतिक प्रतिवेदनहरू तयार गर्नुपर्ने भएकाले अध्यक्ष प्रचण्डले नियमित भेटघाट बन्द गरेको उनको नीजि सचिवालयले जनाएको छ ।
सामान्यतः कुनै पनि गतिलो दस्तावेज तयार पार्न, अध्ययन गर्न र आराम गर्न प्रचण्ड हात्तीवन रिसोर्ट, सिन्धुपाल्चोकको सुकुने पुग्ने गर्छन् । यसपटक भने कहाँ जाने भन्नेबारे केही खुलाइएको छैन ।
सचिवालय स्रोतले भन्यो, ‘निवासमा नेताकार्यकर्ताहरूको भीडभाड हुने भएका कारण उहाँले पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न पाइएन भन्नुभएको छ । अबका दुई दिन उहाँ अध्ययनमा व्यस्त रहनुहुन्छ ।’
पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको तयारी गरिएको छ ।
माओवादीले प्रदेश सम्मेलन अघि स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ । नेकपा माओवादी केन्द्रले पुसमा हुने राष्ट्रिय सम्मेलनमार्फत विधानमा सामान्य संशोधन गर्ने तयारी गरिरहेको छ ।