काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रेस स्वतन्त्रताको मुद्दा समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय रहेको बताएका छन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा यस्तो बताएका हुन् ।
‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्व सरकारले बुझेको छ । नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको छ,’ प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन्, ‘यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वर्द्धन एवं विकासका निम्ति यसको पुनर्संरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको छ ।’ साथै सञ्चार क्षेत्रले पनि आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्नसमेत प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।
सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मई ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसकारूपमा मनाइँदै आइएको छ ।


