काठमाडौं ।नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुखलाई हटाउन नेपाली कांग्रेसले महाअभियोगको प्रस्ताव ल्याए एमालेले त्यसलाई समर्थन गर्ने बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै उनले सभामुख अग्निप्रसाद सापकोटालाई हटाउनुको विकल्प नभएको समेत जिकिर गरे ।
उनले सभामुख विधिसम्मत र देशको कानुनसम्मत तरिकाले नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए । सचिव रायमाझीले एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने बताए ।
सचिव रायमाझीले भने, ‘अहिले हामी सरकारमा छैनौँ, प्रतिपक्षमा छौँ । सरकारमा रहेका पार्टीहरू, महागठबन्धनले के गर्छ रु त्यो कुरा टुङ्गो नलाग्दासम्म हामीले अहिले भनेर कुनै औचित्य छैन । सरकारले आफ्नो पोजिसन क्लियर गरोस् त्यतिबेला हाम्रो पार्टीले निर्णय गर्छ । एमसीसी पास नभए सभामुखमाथि महाअभियोग लाउनुपर्छ भन्ने कुरा काँग्रेसले राख्यो भने हामी साथ दिन्छौँ । सभामुखको काम छैन सभामुखबाट हटाउँदा राम्रो हुन्छ ।’