काठमाडौं । नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत आज बिहानसम्म २० जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार भौगोलिक तर्फ २० जिल्लामा नेतृत्व चयन भइसकेको छ। त्यस्तै विशेष जिल्ला कमिटीतर्फ २ जिल्लाको नेतृत्व चयन भएको छ।
हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाँची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी र कपिलवस्तु जिल्लामा नेतृत्व चयन भइसकेको छ। यस्तै गैर भौगोलिक तर्फ मजदुर विशेष र पेशागत विशेष जिल्ला कमिटीको पनि नेतृत्व चयन गरिएको छ।
एमालेको भूगोलतर्फ ७७ वटा र गैर भौगोलिक ११ गरी ८८ जिल्ला कमिटी रहेका छन्। जिल्ला अधिवेशन सकिएपछि एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दैछ।