काठमाडौं । साइकल संस्कृति अभियान सञ्जालले विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्याली सम्पन्न गरेको छ।
उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको साइकल र्याली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानबाट सुरु भई बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर, सुन्धारा हुँदै दरबारमार्गमा पुगेर समापन भएको थियो। र्यालीमा झन्डै तीन सय साइकलयात्री सहभागी थिए।
र्याली समापन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले साइकल चढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले प्रदूषण बढाउने भएकाले साइकलको प्रयोग गर्दा वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने उनले बताइन्।


