काठमाडौं । राष्ट्रपति उम्मेदवारको विषययमा आज प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच निर्णायक वार्ता हुँदैछ । अहिले राष्ट्रपतिको विषयले सत्ता गठबन्धन धरापमा परेको छ ।
सत्ता गठबन्धनको भविष्य सकिने कि जोगिने भन्ने बिषय आज दुई अध्यक्ष बीचको संवादले निर्धारण गर्ने छन् । राष्ट्रपति उम्मेदवारमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्ने जनाएका छन् ।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँगको संवादपछि प्रचण्डले आज ओलीसँग संवाद गर्ने हिजै साँझ जानकारी दिएका थिए ।‘छलफल चलिराख्या छ, फाइनल भइसक्या छैन । भोलि एमाले अध्यक्षसँग पनि भेट्छु’राष्ट्रपति उम्मेदवारको बिषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए ।
नेकपा एमालेले राष्ट्रपतिमा आफ्नो दलले उठाएको उम्मेदवारलाई नै सत्ता गठबन्धले आधिकारिक उम्मेदवार मान्नुपर्ने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिमा सबै दलको सहमति आवश्यक हुने बताउँदै आएका छन् ।


