काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।
उनले स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘अब यो चुनाव प्रणालीले हाम्रो गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमै लान्छ ।’
गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए ।
‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ उनले अघि भने, ‘गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’
देशमा संघीय लोकतान्त्रिक गणतन्त्र भए पनि यो निर्वाचन प्रणालीका कारण जनताले अनुभूति गर्न नपाएको बताए ।


