काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने चुनावमा आफ्नो दलले बहुमत ल्याउने दावी गरेका छन्।। अध्यक्ष ओलीले सोमबार पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा यस्तो दावी गरेका हुन् ।
उनले भने, ‘बहुमत आउन सम्भव नहुने कुरै छैन। प्रतिनिधिसभामा २७५ सिट छ, त्यसमा १३८ आए बहुमत हुन्छ। १५० सिटको गन्तव्यसहित हामी निर्वाचनमा गएका छौँ ।’ प्रत्यक्षतर्फ सय र समानुपातिकतर्फ ५१ प्रतिशत लोकप्रिय मत ल्याएर एमालेले बहुमत प्राप्त गर्ने ओलीको विश्वास थियो । ‘प्रत्यक्षमा ९० देखि १०० र समानुपातिकमा ५१ प्रतिशत दिए केही हुँदैन। देशमा स्थिरता हुन्छ,’ उनी भन्छन्, ‘यस पटक जनता ओइरिएका छन्। राष्ट्रियतामा स्थिरता र स्थायित्वको मिसन हो यो। पार्टी प्रवेशको लहर चलेको छ बहुमत नल्याउने कुरै छैन ।’
ओलीले ०७४ मा आफ्नो पार्टीले बहुमत नपाएको भन्दै सरकार नबन्दै षड्यन्त्र भएको बताए ।


