काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारले आज जनयुद्ध दिवसमा देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा दिएको हो। माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो। त्यो करिब १० वर्षसम्म चलेको थियो।
द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। त्यसैको सम्झनामा फागुन १ लाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन्। सत्तामा सहभागी दलहरुबीच नै बिदाका विषयमा एकमत छैन ।


