काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् ।
उनले शनिबार राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, सुशासन कायम गर्ने, लगानीको सदुपयोग गरेर जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र यही व्यवस्थामा मात्र मेरो भविष्य सुरक्षित हुन्छ भनेर लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार सूचनाको हक भएको उल्लेख गरे ।
राष्ट्रपतिले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।


