काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई राज्यले संरक्षण गर्ने बताएका छन् । उनले बुधबार मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटका क्रममा यस्तो धारणा राखेका हुन् ।
मन्त्री पौडेलले सरकार सदैव निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारे । उनले निजी क्षेत्रलाई मान्य हुने गरी समस्याको समाधान खोज्ने बताए ।
उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिमा विद्यमान समस्या र अवस्थाको सम्बोधन हुने विश्वास व्यक्त गरे ।
यसैगरी भेटका क्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशीविदेशी लगानीकर्ता, उद्योगी र आमउपभोक्ता तथा नागरिकमा उत्साह र आत्मविश्वास बढ्ने गरी अघि बढ्नुपर्नेमा जोड दिए ।