काठमाडौं । आइतबार देशका धेरै प्रदेशमा भारी वर्षा हुनसक्ने मौसम विभागले जनाएको छ ।
यतिबेला (आइतबार बिहान) बागमती र गण्डकी प्रदेशको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ। देशका बाँकी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ।बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।


