काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संशोधनको विषयमा पहिले नेपाली कांग्रेस र एमालेबीच साझा धारणा बन्ने बताएका छन् । उनले बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँगको भेटघाटमा यस्तो बताएका हुन् ।
उनले कसैले चाहेर पनि संविधानको मूलभूत विषयमा संशोधन नहुने तर्क गर्दै संविधान संशोधनका सन्दर्भमा जिम्मेवार सबै राजनीतिक दलसँग सौहार्द्रपूर्ण वातावरणमा छलफल गरी आवश्यक निर्णय लिइने स्पष्ट गरे।
महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेसले संविधानको मर्म र भावना एवं पञ्चशीलको सिद्धान्तअनुसार सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नेछ ।’ उनले वीआरआई नयाँ सम्झौता नभई पुरानै भएकाले सो सम्झौतालाई अब टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिए।


