काठमाडौं । । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले सरकार गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरु नियमित सञ्चालनका लागि दृढ रहेको बताएका छन् । ।
मन्त्री पाण्डेले शनिबार सिद्वार्थ उद्योग वाणिज्य संघ रूपन्देहीले भैरहवामा गरेको विमानस्थलको दिगो सञ्चालन सम्बन्धी अन्तरक्रियामा यस्तो बताएका हुन् ।
नेपालकै मध्यभागमा रहेको र बुद्धजन्मस्थल लुम्बिनी समेत नजिकै रहेकाले गौतमबुद्ध विमानस्थल सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएकाले आशंका नगर्न मन्त्री आग्रह गरे । उनले विमानस्थल दिगो रूपमा सञ्चालन गर्न आफू महिनामा २ पटक भैरहवा आउने बताए ।
‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु’, उनले भने, ‘संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो मन्त्रालय चलाऔं भन्नेमा लागेको छु, मेची महाकालीको बीचमा रहेको ठाउँ, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउने कुरा प्राथमिकतामा छ ।’


