काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति देउवाको उठबस बिचौलिया र स्वार्थ समूहसँग हिमचिम रहेको आरोप लगाएका छन् ।
माओवादी केन्द्र जलजला गाउँपालिका, पर्वतको तेश्रो अधिवेशन उदघाटन गर्दै पुनले भारत र चीन दुवैसँग सन्तुलित सम्बन्ध कायम गरेर उनीहरुको आर्थिक विकासबाट नेपालले आर्थिक लाभ लिन सक्ने उल्लेख गरे।
पूर्ववर्ती पुष्पकमल दाहाल सरकारले सन्तुलित परराष्ट्र नीति अपनाएर चीनसँग ठूला विकास परियोजनामा सहयोग लिएको र भारतमा १० हजार मेगावाट विद्युत निर्यातसम्बन्धी समझदारी गरेको स्मरण पुनले गरे।
पुनले भ्रष्टाचारी जोगाउन बिचौलियाहरुले कांग्रेस र एमाले मिलाएर वर्तमान सरकार बनाएको भन्ने आफूहरुको आरोप घटनाक्रमहरुले पुष्टि गरेको दाबी गरे।


