काठमाडौं । आज (शुक्रबार) संघीय संसद् अन्तर्गतका २ समितिको बैठक बस्दै छ ।
संसद सचिवालयका अनुसार आज बैठक बस्ने तय भएका समितिहरुमा कानून, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति रहेका छन् ।
बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको काम कारबाहीको हालको अवस्थाका बारेमा छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक यस्तै बिहान १०ः३० बजेका लागि बस्नेछ । उक्त बैठकमा पुरानै एजेन्डा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुने समितिले जनाएको छ ।


