काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको बताएका छन् ।
उनले विहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् ।
ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनीले भन्दै आएको ‘सर्वे भवन्तु सुखिनः’को आधुनिक रूप ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यलाई ध्यानमा राखेर आफूले काम गरिरहेको स्पष्ट पारे ।
उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गौला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको बताए ।


