काठमाडौं । – उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारको स्थायित्वका नै नेपाली कांग्रेस र एमालेबीच सहकार्य गरिएको बताएका छन् ।
उनले आइतबार कांग्रेस धरान उपमहानगर कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सहमतिअनुसार दुवै पार्टीले इमानदार भएर काम गरिरहेको बताएका छन् ।
‘विगतमा र आगामी निर्वाचनमा पनि कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई राम्ररी थाहा छ । अहिलेको परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो । त्यसैले परिणाम दिने गरी सरकारले काम गरिरहेको छ । यसअघि पूरा हुन नसकेका योजना सम्पन्न गर्ने, आर्थिक र विकास निर्माणका काममा गति दिने गरी सरकार अगाडि बढेको छ’, उनले भने ।


