काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्य प्रतिस्पर्धी दल एमालेसँग मिलेर सरकार बनाएको भएकाले केही समस्या देखा परेता पनि त्यसलाई मिलेर समाधान गर्ने बताएका छन् ।
उनले मंगलबार ७७ जिल्ला पार्टी सभापतिहरूको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले अहिलेको संविधान अनुसार एउटा पार्टीको बहुमत आउन नसक्ने भए पनि कुनै न कुनै दलसँग मिल्नुपर्ने बताए ।
उनले भने, ‘राजनीतिक स्थायित्वका लागि अहिले मुख्य प्रतिस्पर्धी पार्टीहरू मिलेर सरकार बनाएका छौँ । कहिले कसको कहिले कसको सरकार हुँदा कुनैले काम गर्न सक्दैन । यो सरकारको स्थायित्व स्पष्ट छ। पहिला पनि प्रजातन्त्र र लोकतन्त्रका लागि लडेका पार्टी हौँ । ओलीसँग हामी सँगै जेल पनि बसेका हौँ। उहाँ लामो समय जेल बस्नुभएको हो ।’