काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सबै हिसाबले प्रचुर सम्भावना भएको देश भएको जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले विहीबार गोरखा जिल्लाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटनका क्रममा यस्तो तर्क गरेका हुन् । उनले पछिल्लो समय नेपालमा कुनै गतिलो नेता र पार्टी छैन भन्ने भाष्य बनाउन खोजिएकोमा चिन्ता ब्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘जल, जमिन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर सम्भावना बोकको देश हो। तर, एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ। यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन सम्भव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं।’