काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा देखिएको प्रतिगामी षड्यन्त्र सफल हुन नदिने बताएका छन् ।
पूर्व प्रधानमन्त्री उनले शनिबार काठमाडौँमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सरकारका गलत काम, क्रियाकलापको कारण प्रतिगामी तत्त्वले धमिलो पानीमा माछा मार्ने दुष्साहसजस्तो गरेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका हुन् ।
तत्कालीन समयमा संविधान नबन्ने देखिएपछि केही विषयमा सम्झौता गरिएको भन्दै उनले अब यथास्थितिवाद र प्रतिगामी षडयन्त्रविरुद्ध सबै उत्पीडित वर्ग र जाति समुदाय अगाडि बढ्नुपर्ने बेला आएको धारणा राखे । प्रचण्डले अन्य दलसँग तालमेल गरेर अघि बढ्दा त्यसको परिणाम जनतामा राम्रो नभएकाले आफ्नै बलमा निर्वाचन लड्नका लागि पार्टीलाई बलियो बनाउने अभियानमा आफू रहेको बताए ।


