काठमाडौं । आज (शुक्रबार) एकैदिन संघीय संसद अन्तर्गतका पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । उक्त बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल गर्ने कार्यक्रम छ ।
यसैगरी आज बिहान साढे एघार बजे उद्योग वाणिज्य समितिको बैठक बस्ने तय भएको छ । बैठकमा ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१’ माथि विषय विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।
कृषि, सहकारी समितिमा हिन्द कुश हिमालयन पार्लियामेन्ट मिट–२०२५ सम्मेलनको हालसम्मको तयारीका सम्बन्धमा छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे सुरु हुनेछ ।
सार्वजनिक लेखा समितिमा ‘ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुनेछ । यो बैठक पनि बिहान ११ बजे नै सुरु हुनेछ ।
दिउसो २ बजे बस्ने विधायन व्यवस्थापन समितिमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यसूची तय भएको समितिको सूचनामा उल्लेख छ ।


