काठमाडौं । विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापालाई ८ वर्ष कैदको फैसला सुनाइएको छ। अदालतले बिहीबार थापासहित अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेललाई नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै सजाय सुनाएको हो।
उनीहरूलाई जनही ८ वर्षका दरले कैद तोकिएको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते कसुरदार ठहर गरे पनि बिहीबार सजाय निर्धारण गरेको हो।
उनीहरूलाई जनही १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने ठहर भएको छ।
विशेष अदालतले यसअघि थापालाई गैरकानुनी सम्पत्तिको मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाएको थियो। मेयर थापाले तीन करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको हो। थापा नेकपा माओवादीबाट निर्वाचित मेयर हुन् ।


