काठमाडौं । आज साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशका अधिकाँश शिवालयहरुमा दर्शनार्थीको घुइँचो लागेको छ।
बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए।
पशुपति प्रस्थान मार्ग गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, मैजुबहाल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली, गौरीनगर, पिङ्गलास्थान र आसपासबाट पनि भक्तजन पशुपतितर्फ जानेक्रम जारी छ । गौरीनगरसम्म लामो लाम पनि लागेको छ।
यस अवसरमा पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन एवं विशेष पूजा व्यवस्थापनको प्रबन्ध मिलाइएको छ। बिहान ३ बजेदेखि खुलेका मन्दिरका चार ढोका बेलुका आरतीपछि राति ८ बजेसम्म खुला रहने छ। विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म मात्र हुने जनाइएको छ।


