काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले गगन पक्षले विशेष महाधिवेशन गरेको कारण निर्वाचनमा हार भोग्नुपरेको आरोप लगाएका छन् ।
पूर्व महामन्त्री समेत रहेका उनले आज कांग्रेस संस्थापन इतर समूहले चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्ता आरोप लगाएका हुन् ।
गत भदौ २४ गतेको हिंसात्मक घटनामा पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा। आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमण र पार्टी कार्यालयहरूमा भएको तोडफोडका कारण उत्पन्न त्रासदीपूर्ण अवस्थाको सिर्जना भएको उल्लेख गरे। त्यस्तो संकटका बेला एकताको आवश्यकता रहेकोमा त्यसो हुन नसकेको उनको भनाइ थियो।
‘पार्टीको विधानबमोजिम कार्यकाल थप गर्नुपर्ने विषम परिस्थितिमा अप्रत्याशित रूपमा विशेष महाधिवेशनको प्रसंग उठाइँदा आन्तरिक मतभेद बढ्यो, जसका कारण निर्वाचनमा पार्टीले सोचेजस्तो परिणाम ल्याउन सकेन,’ डा। कोइरालाले भने।


