काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूसँग विगत ३५ वर्षको हिसाब माग्दै नहिँड्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार राजधानी काठमाडौंमा आयोजित पार्टीको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
‘सरकारले बाटो बिराएमा हाम्रो शिर झुक्छ। शिर झुकाउने काम हामी कसैले गर्नु हुँदैन,’ उनले भने, ‘केही गर्न नसके कम्तीमा गलत नगरौँ। राम्रो केही गर्न नसके पनि नराम्रो केही नगरौँ।’
लामिछानेले विगतमा पुराना दलका कमजोरी औँल्याएर आफूहरू राजनीतिक रूपमा अग्लो देखिन सक्ने अवस्था रहे पनि अब त्यो सुविधा रास्वपालाई नरहेको बताए। ‘हिजोसम्म पुराना दललाई दोषैदोषको चाङ देखाएर हामी अग्लो हुन सक्थ्यौँ, तर आज हामीलाई यसमा छुट छैन,’ उनले भने।
‘अब हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्ष कस्तो बनाउने, त्यो चाहिँ तयारी थालौँ,’ लामिछानेले भने।


