काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्राट अशोकले गौतम बुद्धको शान्ति अभियानलाई विश्वभर फैलाउन काम गरेको बताएका छन् ।
उनले मंगलबार गौतम बुद्धको अस्तुधातु रहेको पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा शान्ति दीप प्रज्ज्वलन तथा गुरुयोजना सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले धार्मिक पर्यटनको विस्तारबाट नै रामग्राम र समग्र लुम्बिनी क्षेत्रको विकास गर्न सकिने बताए ।
‘पर्यटनसँग सम्बन्धित परियोजना अगाडि सारिएको छ, ग्रेटर लुम्बिनी परियोजनाको अध्यक्ष हुँदा पनि बृहत लुम्बिनी परियोजना बनाउँदा रामग्रामलाई समेटिएको थियो’, उनले भने, ‘तत्कालीन महासचिव बानकि मुनले पनि यसलाई साथ दिनुभएको हो । हालै पनि महासचिव एन्टिनियो गुटेरेसलाई सहभागी बनाउन सकिएको छ । नेपालको शान्तिको कामना र जलवायु परिवर्तनका विषयमा विश्वको ध्यान खिच्न सकिएको छ ।’


