काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् ।
पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि सारेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न अग्रसर रहेको बताए ।
पुनले पैसामा खरिद गरेर गभर्नर वा नियामकीय जिम्मेवारी प्राप्त गर्नेले पनि आफू सधैं पदमा रहिरहने नसोच्न चेतावनी दिए । ‘स्वार्थ समूहको प्रतिनिधि भएर राज्यका नियामकीय भूमिकामा नियुक्ति पाउनेहरुले सोचे हुन्छ, को कसरी नियुक्त भएको छ भन्ने सबैले हेरिरहेको छ । हामीले पनि हेरेका छौं ।’
पुनले राज्यका निकायहरुमार्फत अर्थतन्त्रमा कब्जा जमाउन चाहने स्वार्थ समूहले नै वर्तमान काँग्रेस–एमाले सरकार बनाएको विभिन्न घटनाक्रमले पुष्टि गरेको बताए ।


