काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीहरु सच्चिनुपर्ने बताएका छन् । पूर्व प्रधानमन्त्री उनले विराटनगरमा आइतबार आयोजित हाम्रो मत दैनिकको २२औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उक्त विचार प्रस्तुत गरेका हुन् ।
उनले राजनीतिक दलहरूमा रोग देखा परेको र त्यसको उपचारका लागि गहन समीक्षा आवश्यक रहेको उल्लेख गरे । संविधान जारी गर्दा दलहरूबीच दश वर्षपछि समीक्षा गर्ने सहमति भएको स्मरण गराउँदै उनले त्यसको समय अब आएको बताए । तथापि, संविधानको समीक्षा गर्दा पछाडि फर्किन नहुने स्पष्ट पारे ।
‘संविधानको समीक्षा गर्दा एउटा सर्त रहन्छ । हामी पछाडि फर्किनका लागि समीक्षा गर्ने होइनौँ । हामी अगाडि बढ्नका लागि समीक्षा गर्ने हो । जनताले प्राप्त गरेका उपलब्धिहरू खोस्नका लागि होइन, ती उपलब्धिहरू थप बलियो बनाउन, विस्तार गर्न र परिमार्जन गर्नका लागि समीक्षा गरिन्छ,’ उनको भनाइ थियो ।


