काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विसं २००७ को जनक्रान्तिले देशमा राजनीतिक परिवर्तन मात्र नभई आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिकलगायत हरेक क्षेत्रमा परिवर्तन गरेको बताएका छन् ।
उनले आज राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । शुभकामना सन्देशमा सभापति देउवाले विसं २००७ कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जनक्रान्तिले आजकै दिन एक सय चार वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना भएको उल्लेख गरेका छन्।
‘राजनीतिक परिवर्तनमात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्गप्रशस्त गरेको थियो। मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण गर्यो’, उनले शुभकामना सन्देशमा भनेका छन्।


