काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटीमा ल्याउँदा पार्टीको गरीमा बढ्ने बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा बोल्दै भट्टराईले पार्टीको गरीमा बढाउनको लागि भीम रावललाई स्थायी कमिटीमा ल्याउन केपी ओलीसँग माग गरे ।
बैठकमा उनले भने, ‘कमरेड भीम रावललाई स्थायी कमिटीमा ल्यायो भने पार्टीको गरिमा बढ्छ। उहाँ स्थायी कमिटीमा बस्न मान्नुहुन्छ कि मान्नुहुन्न त्यो पछि थाहा होला, तर उहाँलाई ल्याऔँ, उहाँलाई ल्याउँदा पार्टीको गरिमा बढ्छ ।’
तर, अध्यक्ष ओलीले योगेश भट्टराईले गरेको प्रस्तावलाई बेवास्ता गर्दै आफ्नो प्रस्ताव बैठकमा राखे। निवर्तमान उपाध्यक्ष रावल महाधिवेशनमा केपी ओलीसँग अध्यक्ष पदमा चुनाव लडेर पराजित भएका थिए ।
यसैबीच एमाले बैठकले गरेको कार्यविभाजनबारे असन्तुष्टि व्यक्त गर्दै रावलले गुटबन्दीले छलाङ मारेको देखिएको टिप्पणी गरेका छन् । यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित प्रवृत्ति भएको भन्दै रावलले पार्टीको हितका लागि यस्तो प्रवृत्ति हट्नु पर्ने बताएका छन्।


