काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले अब पार्टीभित्र कुनै फरक मत नरहेको बताएका छन्।
संगठन विभाग प्रमुखसमेत रहेका पौडेलले पार्टी विचार, संगठनसहित सबै हिसाबले एकतावद्ध रहेको दाबीसमेत गरे। उनले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि दर्ज नगरेको स्पष्ट पारे।
‘पार्टीको औपचारिक, आधिकारिक निकायमा, कमिटीमा होला, महाधिवेशनमा होला। ती ठाउँहरूमा व्यक्तिले आफ्नो विचार व्यक्त गर्छ। कमिटीले अथवा अधिवेशनले निर्णय गर्छ। त्यो निर्णयमाथि कसैको असहमति रह्यो भने उसले औपचारिक रूपले बैठकको माइन्यूटमा दर्ज गर्नुपर्छ,’ उनले भने,‘औपचारिक रूपमा दर्ज भयो भने त्यसलाई फरक मत मानिन्छ। कसैले औपचारिक रूपमा फरक मत राखेन भने ऊ पार्टीको निर्णयसँग सहमत भयो भन्ने मानिन्छ। हामीले यो प्रणाली नै विकास गरेका छौं।’
‘यस पटक कसैले पनि पार्टीमा फरक मत राखेको होइन। स्थायी कमिटी, केन्द्रीय कमिटी र विधान महाधिवेशनमा विचार त सबैले व्यक्त गर्यौं। सबै ठाउँमा आफूलाई लागेका कुरा बोल्यौं,’ उनले भने, ‘औपचारिक निर्णयसँग भने कोही पनि असहमत भएको र कसैले पनि फरकमत प्रस्तुत गरेको अवस्था होइन। त्यसकारणले पार्टीमा फरक मतको अवस्था नै छैन। पार्टी विचारमा, संगठनमा सबै हिसाबले एकतावद्ध छ।’