काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बहाना बनाएर प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय निर्वाचन रोक्ने कोसिस नगर्न आग्रह गरेका छन् ।
उनले सोलुखुम्बुमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, “मैले प्रधानमन्त्रीलाई पनि खबर पठाएको छु । चुनाव रोक्ने कोसिस नगर्नुस् । उहाँले बुझ्नुहुन्न हामी बुझाएर छोड्नेछौं । चुनाव हुनेछ । चुनाव टार्न कसैले सक्ने छैन । चुनाव हामी गराएर छाड्छौं ।”
उनले गठबन्धन आज पनि चुनाव सार्नेबारे छलफल गरिरहेको आरोप लगाए । “आज पनि अहिले पनि गठबन्धन चुनाव सार्न बालुवाटारमा मिटिङ बस्दै छ । म गठबन्धनालाई भन्न चाहन्छु, संविधान विरोधी अपराध धेरै भइसक्यो । अब सह्य हुन सक्दैन,” उनले भने ।